सुदृढ अर्थतन्त्रः अबको विकास
मन्त्र
§ भोजेन्द्र बस्नेत (२०७३ वैशाख २ गतेको
कारोबार राष्ट्रिय दैनिकमा प्रकाशित)
वि.सं
२०७२ नेपालीको लागि दुःखद् र कहालीलाग्दो वर्षको रुपमा चित्रित भएर बिदा भएको छ ।
सुरुमै विनाशकारी भूकम्प, हजारौंको मृत्यु, घाइते, लाखौंको उठिबास भयो । भूकम्पले जनजीवन
अस्तव्यस्त तुल्यायो भने अर्थतन्त्र समेत धरासायी बन्यो । भूकम्पको असर अझै
सामान्यीकरण गर्न नसकिएकोले पहिलेकै अवस्थामा फर्किन लरतरो लगानी र प्रयत्नले
सम्भव छैन । २०७२ सालमा भारतले गरेको नाकाबन्दी अर्को तितो पक्ष रह्यो । संविधान
आएपछि अपेक्षित राजनीतिक स्थिरता र विकासको आशामाथि अप्रत्यासित घटनाले तुषारापात
ग¥यो । भूकम्प र नाकाबन्दीको दोहोरो असरले यो साल हाम्रो लागि ग्रहण
लागेझैं बन्यो । संविधान आएपछि जादुको छडिले झैं सबै समस्या च्वाट हुने परिकल्पना
साकार भएन, २ प्रतिशत आर्थिक बृद्धि पु¥याउन हम्मे भयो । जे भयो बित्यो
पश्चातापको अर्थ रहेन । हामी विक्रम संवत् अनुसारको नयाँ वर्ष २०७३ मा पदार्पण
गरेका छौं । नयाँ वर्ष हाम्रो निम्ति गल्तीबाट पाठ सिक्ने र चेत खुल्ने वर्ष बन्न
सकोस् । यो वर्ष पुनर्निर्माण र नवनिर्माणको वर्ष बनोस् । विकासको लयमा समात्न र
नयाँ नेपाल निर्माणको सोचलाई साकार पार्न यसो गरौंः
सर्वसाधारणबाट
पूँजी सदुपयोग
पुँजी
परिचालन विकास र उन्नतिको मुख्य सूत्र हो । यसको प्रभावकारी परिचालन गरेमात्र खेर
गइरहेको स्रोतसाधनको उपयोग र उपयोगिता सिर्जना हुन्छ । अहिलेसम्म पूँजीको अभावमा
विकास गर्न सकिएन भन्ने सोच छ तर छरिएर रहेको पूँजीबाट विकासलाई यथार्थमै अंकमाल
गर्न सकिनेतर्फ ध्यान पुगेको छैन । विभिन्न कम्पनीहरुले बेलाबखत जारी गर्ने साधारण
सेयरमा जनताले गरेको सयौं गुणा बढी आवेदनलाई हेर्दा नेपालको विकासको मोडलमा साधारण
पूँजी परिचालन नै पर्याप्त देखिन्छ । विकासको तिर्खा मेट्न यथोचित तदारुकता
नभएकोमात्र हो । एकातिर धितोपत्र तथा वित्तीय बजारमार्फत् आर्थिक कार्यदिशा तय त
छँदैछ, केन्द्रीय बैंकमार्फत् विकास पूँजी उठाउन सकिन्छ । थोपा–थोपा मिलेर नै
समुद्र बन्ने हो । अहिले संचालनमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनीले जस्तै
जनताबाट पूँजी संकलन गरी प्राथमिकता प्राप्त विकासमा परिचालन गर्नेतर्फ सरकार
लागोस् अनि त्यसको प्रत्यक्ष लाभ जनतासम्म पु¥याउन सकौं ।
विप्रेषण
परिचालन रणनीति
विकास
प्रशासनको बागडोर सम्हालिसकेका र सम्हाल्दै गरेका हाम्रा विज्ञहरु वैदेशिक
रोजगारीबाट प्राप्त विप्रेषण रकमलाई पूँजी निर्माणमा सदुपयोग गर्न खासै घोत्लिएको
पाइँदैन । ९० प्रतिशत उपभोगमा जाने विप्रेषणको सदुपयोग गर्नसके स्रोत अभाव हुने
देखिन्न । अहिले कूल ग्राहस्थ उत्पादनमा विप्रेषणको हिस्सा २३ प्रतिशतभन्दा बढी छ
भने ५६ प्रतिशत घरपरिवारले विप्रेषण प्राप्त गर्ने गर्दछन् । वार्षिक बजेटभन्दा
माथि रहेको व्यापार घाटा पूर्तिको एकमात्र माध्यम विप्रेषण बनेको छ । खाडीको
उखरमाउलो गर्मीमा तरतरी पसिना चुहाएर जम्मा गरेको पैसा विलाशिताका बस्तु
भित्र्याउन खर्च गर्नमा सीमित गर्नुहुँदैन । यसलाई देश विकासमा लगाउन तुरुन्तै
आवश्यक रणनीतिक योजना तर्जुमा गरौं अनि विप्रेषणको भरपुर सदुपयोग गरी विकासको लाभ
बाडौं ।
वैदेशिक
लगानी आकर्षण, सहायता परिचालन
कुनै
मुलुकको आर्थिक विकासमा वैदेशिक लगानी अनि सहायता अत्यन्तै महत्वपूर्ण हुन्छ ।
धेरै मलुक जो आर्थिक उन्नतिको शिखरमा पुगेका छन् तिनीहरुले ठूलो मात्रामा वैदेशिक
लगानी आकर्षण गरी अर्थतन्त्र उकासेका छन् । वैदेशिक लगानी (एफडीआईः प्रत्यक्ष तथा
पोर्टफोलियो) अर्थतन्त्र सबलीकरणको गतिलो माध्यम हुनसक्दछ । सस्तो ज्यालादर, बजार संभावना र
अवशर, विशेष सहुलियत व्यवस्था, लगानी सुरक्षा भए लगानी आकर्षित
हुनसक्दछ । स्रोत अभावको परिपूर्ति, तीव्र आर्थिक बृद्धि, रोजगारी
सिर्जना, पूर्वाधार विकास, प्रविधि हस्तान्तरणका साथै कार्यकुशलता
अभिवृद्धि र लाभको निमित्त यस्तो लगानी बरदानसिद्ध हो । नेपालमा अहिले पनि
उद्योगधन्दामा ठूलो लगानी आएको छैन । वैदेशिक लगानीबाट २ लाख रोजगारी पनि सिर्जना
भएको छैन ।
वि.सं २०७२ मा नेपालीले जे जति दुःखकष्ट र त्रासदी भोग्नु प¥यो, यसबाट
पाठ सिकेर नयाँ वर्षको नयाँ बिहानीसँगै नयाँ शिरा र सोचबाट अघि बढ्न सबैलाई
प्रेरणा प्राप्त होस् । प्रत्येक नागरिक नाना, छाना
र खानाबाट बञ्चित हुनु नपरोस् ।
त्यसैगरी
बाह्य मुलुकले वर्षेनी ठूलो धनराशी सहयोग गर्दै आएका छन् । भारत, चीनका अलवा
बेलायत, जापान, अमेरिकालगायत विभिन्न विकास साझेदारहरुले धेरै नै मद्दत गरेका छन् ।
पछिल्लो उदाहरण वि.सं २०७२ असार १० को दाता सम्मेलनमार्फत् साँढे ४ खर्ब रकम सहयोग
प्रतिवद्धता जुटेको थियो । तर त्यसलाई कसरी परिचालन गर्ने भन्नेमा सरकार अझै
दिग्भ्रमित छ जुन दूर्भाग्यपूर्ण छ । यो वर्ष वार्षिक बजेटको २५ प्रतिशत रकम
वैदेशिक सहायता परिचालन गर्ने लक्ष्य छ जसमध्ये ५४ प्रतिशत अनुदान र ४६ प्रतिशत ऋण
छ । वैदेशिक सहायता प्रतिवद्धताको समग्र अंक १ खर्ब ८ अर्ब छ जसमा ८५ प्रतिशत
अनुदान र १५ प्रतिशत ऋण छ । अहिलेसम्म पर्याप्त ध्यान पुग्न नसकेकोमा अबका दिनमा
अर्थतन्त्र उकास्न प्रत्यक्ष वैदेशिक लगानी आकर्षण र सहायता सदुपयोग गरौं र एक तहको
विकास गरौं ।
मानवीय
पूँजी र विज्ञता उपयोग
मानवीय
पूँजी जुनसुकै मुलुकको अत्यन्तै महत्वपूर्ण सम्पत्ति हो । यसको भरपुर उपयोग गर्न
सकेमात्र उत्पादनका अन्य साधनहरु जस्तै जमिन, पूँजी, प्रविधि, संगठनलाई
परिचालन गर्न सकिन्छ । नेपालमा ५६.९६ प्रतिशत सक्रिय जनसंख्या छ जुन हाम्रोजस्तो
विकासोन्मूख मुलुकको निम्ति फाइदाजनक अवस्था हो । तर नेपालको मावन स्रोत थोरै
ज्यालामा विदेशमा जोखिमपूर्ण काममा पसिना बगाउन बाध्य छ । मानव स्रोतको सही आँकलन
र व्यवस्थापन हुन नसक्दा यहाँ उत्पादित सक्षम र काम गर्न तयार भएको जनशक्ति बाह्य
मुलुकले तानिरहेका छन् । सबैभन्दा दुःखलाग्दो कुरो त दशकौं राज्यको लगानीमा उच्च
शिक्षा हासिल गरेर देशको लागि केही गर्ने बेला विदेशीले टपप्क टिपेर दल्ने
परिस्थिति छ । आखिर बुद्धिजीवि तथा प्रवुद्ध वर्गसमेत स्वदेशमा बस्न नचाहने ‘ब्रेन
ड्रेन’ को समस्या किन आयो ? चुरो पहिल्याएर मानवीय पूँजीलाई स्वदेशमै उपयोग गर्न नसकेसम्म उन्नतिको
पथमा लम्किन कहिल्यै सकिन्न । नयाँ वर्षबाटै यो विषयले यथेष्ट स्थान पाओस् ।
घरेलु
उद्योगधन्दाको पुनरुत्थान तथा विकास
उद्योगधन्दाको
विकास मुलुकको स्रोत र साधन सदुपयोग गरी उत्पादन बढाउन अनिवार्य सर्त हो । कुनै
बेला नेपालमा लघु तथा घरेलु उद्यम निकै फस्टाएको थियो । लाखौंको संख्यामा रहेका ती
उद्योगहरुले आन्तरिक आवश्यकता पूरा गर्ने हैसियत राख्थे । उद्यमशीलताकै कारण आयात
र व्यापार घाटा न्यून थियो । पुँजी पनि स्वदेशमै रहन्थ्यो । अहिले उद्योग गरेर
खाने परिवेश र वातावरण बिथोलिएको छ । दर्जनौं विशेष आर्थिक क्षेत्र र औद्योगिक
क्षेत्र त खुलेका छन् तर विभिन्न समस्याको चंगुलभित्र फसेका उद्योगीहरु पुर्पुरोमा
हात लगाएर बसेका छन् । उर्जा संकट, श्रम समस्याले उद्योग तथा कलकारखानाको
हरिबिजोग छ । उद्योगधन्दाको प्रवद्र्धन र आयात प्रतिस्थापन गर्ने नीति छैन । यसले
लघु, घरेलु तथा साना उद्योगीले बजार नपाउँदा परनिर्भरताले हद नाघेको छ ।
रोजगारी प्रवद्र्धन र आत्मनिर्भरताको निम्ति स्वदेशी उद्योगधन्दालाई विशेष सहुलियत
तथा लघु, घरेलु उद्योगको पुनरुत्थान गर्नेतर्फ यो वर्षपर्यन्त सरकारको ध्यान
पुगोस् ।
'कोष' को परिचालन
नेपाल
सरकारले विभिन्न उद्देश्य पूर्ति गर्न दर्जनभन्दा बढी कोषहरु खडा गरेको छ । गरिबी
निवारण गर्न कोष छ । कर्मचारी वर्गको हित तथा आवश्यक कोष व्यवस्थापनको लागि
कर्मचारी संचय कोष एवम् नागरिक लगानी कोष छ । विपद् व्यवस्थापनतर्फ दैवी प्रकोप
उद्दार कोष, नेपाली सेना तथा नेपाल प्रहरीको कल्याणकारी कोष, वातावरण
संरक्षण कोषजस्ता दर्जनौं कोषमा जम्मा भएको खरबौं रकम त्यसै थन्किएको छ । यो
रकमलाई प्राथमिकता र तुलनात्मक लाभको क्षेत्र जलविद्युतमा मात्र लगानी गर्न सक्ने
हो भने पनि मुलुकको बृहत्तर हित र उन्नति सम्भव छ । यसरी पैसा कुहाएर राखेर
अरुसामु हात पसार्नेमात्र सोच राख्नुभन्दा यसलाई विकासमा परिचालन गर्नुपर्ने
आवश्यकता छ ।
वित्तीय
संस्था परिचालन, आयोजनामा सहवित्तीकरण
कुनै
मुलुकको विकासमा बैंक तथा वित्तीय संस्थाको अहम भूमिका रहन्छ । छरिएको पैसा जम्मा
गरी एकमुष्ट लगानी गर्नसक्ने क्षमता राख्ने यस्ता संस्थाले विकासको मोडल नै तयार
गरी त्यसलाई सफल परियोजनाको रुपमा अवतरण गराउन सक्दछन् । वित्तीय संस्थाले अहिले
पर्याप्त लगानीको क्षेत्र नपाएर प्रचुरमात्रमा तरलता साँचेका छन् । यस्तो रकम
उत्पादनशील क्षेत्र, उद्योगधन्दामा प्रवाह गरी उत्पादन बृद्धिमा केन्द्रित गर्न सकिएको छैन
। लगानीयोग्य पूँजी हुँदाहुँदै परिचालन गर्न नसकेर आर्थिक उन्नतिमा पाइला चाल्न
सकिएको छैन । त्यसैले बैंक तथा वित्तीय संस्था परिचालन र तिनीहरुको सहवित्तीकरणमा
ठूला परियोजनामा लगानी गरी विकासमा पाइला चाल्नु जरुरी देखिन्छ ।
राष्ट्रसेवक
कर्मचारी परिचालन
नेपालमा
सार्वजनिक क्षेत्रमा कार्यरत जनशक्ति निकै ठूलो छ । यो संख्यालाई सरकारले न त
पुग्दो तलबभत्ता दिन सकेको छ न उनीहरुको दक्षता, क्षमता, सीप भरपुर उपयोग गर्न नै सकेको छ ।
नेपाली सेनासँग १ लाख हाराहारी जनशक्ति छ भने प्रहरीतर्फ त्यति नै छ । निजामती
सेवामा ८० हजार बढी कर्मचारी छन् । २ लाख हाराहारी शिक्षकशिक्षिका छन् । यसका
अतिरिक्त सार्वजनिक संस्थान तथा अन्य निकायहरुमा कार्यरत कर्मचारीलाई लिने हो भने
सरकारले मुलुकको हितमा ठूलो जनशक्ति परिचालन गर्नसक्ने देखिन्छ । राष्ट्रसेवक
कर्मचारीलाई विकास निर्माणतर्फ अग्रसर गराउन उनीहरुको विज्ञता तथा विशेषज्ञ
सेवालाई भरपुर उपयोग गर्नुपर्ने आवश्यकता छ । अत्यावश्यक सेवाबाहेक सुरक्षा
दस्तालाई विकासका काममा परिचालन गर्ने परिपाटी यसअघि पनि छ । सेनाले देश विकासमा
धेरै योगदान समेत गरेको छ । यस पक्षलाई मनन गर्दै विशेष नीति लागू गरी विकासमा
राष्ट्रसेवक कर्मचारीको भरपुर उपयोग जरुरी छ ।
जनश्रमदान
परिचालन, जनसहभागिता
कुनै
समय विकासमा जनलहर ह्वात्तै बढेर गएको थियो । खासगरी पञ्चायत कालमा अधिकांश
विकासका गतिविधि जनसहभागितामा स्थानीयस्तरमै संचालन हुने गर्दथे । विकासको मोडलमा
‘बटम अप अप्रोच’ को रुपमा लिइने यस्तो तदारुकताले दिगो विकासमा टेवा पुग्ने
निश्चित छ । विकास निर्माणमा स्थानीय सहभागिताको सुनिश्चितताले थोरै खर्चमा
गुणस्तरीय काम गर्न सकिन्छ भने जनतामा प्रतिस्पर्धात्मक भावना सिर्जना हुन्छ । तर
अहिलेको जस्तो आँखामा छारो हालेर बजेट गोजीमा हाल्ने प्रवृत्तिको भने अन्त्य
गरिनुपर्दछ । त्यसको लागि स्थानीय निकायमा जननिर्वाचित पदाधिकारीहरुको व्यवस्था र
प्रभावकारी मूल्यांकन पद्दतिको विकास गरी आफ्नो क्षेत्र बनाउन जनसहभागिता
सुनिश्चित सोचौं ।
सीप
तथा प्रविधि हस्तान्तरण
प्रविधि
द्रुत विकासको माध्यम हो, दैनिक कार्यपद्दतिमा सहजता ल्याउने औजार हो । दैनिक जीवन एवं
कार्यप्रक्रियामा प्रविधिको प्रयोगले कार्यक्षमता र गुणस्तर बढ्दछ । यसले विकासमा
चामत्कारिक नतिजा दिन सक्छ । प्रविधिको प्रयोग गर्न सीप आवश्यक पर्दछ जसको लागि
पनि लगानी बढाउनुपर्ने हुन्छ । नेपालको सन्दर्भमा ४० लाखभन्दा बढी जनसंख्या
विदेशिएको अनुमान छ । धेरैजसो अवशरको खोजीमा अस्थायी रुपमा बाहिरिएको यस्तो संख्या
संसारका कुनाकुनामा छरिएर रहेको छ । उनीहरुले जुन देशलाई कर्मभूमि बनाए त्यहाँ
रहँदा पर्याप्त ज्ञान, सीप तथा प्रविधि हासिल गरेका छन् । त्यसलाई हाम्रो विकास तथा
कार्यपद्दतिमा उपयोग गर्न सकिने अवस्था छ । वैदेशिक रोजगारीबाट फर्कनेहरुबाट समेत
यस्तो तवरतरिका हस्तान्तरण गर्न सकिन्छ । दक्षिण कोरिया, इजरायलजस्ता
मुलुकमा कृषि तथा उद्योगधन्दामा अवलम्बन हुने ज्ञान, सीप हाम्रो सन्दर्भमा उपयोग गर्ने
सोंच बनाउनु जरुरी छ । यसै वर्षदेखि प्रभावकारी रुपमा थालनी गरौं ।
फजुल
खर्च नियन्त्रण, पूँजीगत खर्चको प्रभावकारिता बृद्धि
सरकारको
धेरैजसो खर्च हुनुपर्ने ठाउँमा नभएर नहुनुपर्ने ठाउँमा छ । विकासका आवश्यकताको
प्राथमिकिकरण नगरी कनिका झैं बजेट छर्ने प्रवृत्तिले सन्तुलित तथा असन्तुलित दुवै
विकासका अवधारणाबाट अघि बढ्न सकिएको छैन । जनताको करबाट उठेको अधिकांश रकम
पुग्नुपर्ने ठाउँमा नपुगेर बिचमै चुहिने गरेको छ । शिक्षा, स्वास्थ्य, कृषिजस्ता
प्राथमिक क्षेत्रम गरिएको लगानी बालुवामा पानीजस्तै छ । नतिजाभन्दा प्रक्रियामै
बजेट सकिने रोगले ग्रस्त हाम्रो प्रणालीमा सुधार ल्याउन आगामी वर्षको नयाँ बजेटले
नयाँ ढाँचा ल्याओस् । स्वार्थ केन्द्रितभन्दा विकास केन्द्रित बजेटबारे सोचौं ।
अन्तमा,
वि.सं
२०७२ मा नेपालीले जे जति दुःखकष्ट र त्रासदी भोग्नु प¥यो, यसबाट पाठ
सिकेर नयाँ वर्षको नयाँ बिहानीसँगै नयाँ शिरा र सोचबाट अघि बढ्न सबैलाई प्रेरणा
प्राप्त होस् । प्रत्येक नागरिक नाना, छाना र खानाबाट बञ्चित हुनु नपरोस् ।
देश र जनताको बृहत्तर हित, आर्थिक उन्नतिको बाटोमा लम्कन राज्यको समग्र सोच नियतिको जाँतोमा
नदरालिओस् नीति र व्यवहारमा प्रतिविम्बित होस् । शुभकामना ।

No comments:
Post a Comment