‘जीवन’
अरुको भरमा जिउने हो, यहाँ अति साह्रो छ जीवन
आफैं जिएर सम्म त हेर, बाँच्नै कति गाह्रो छ जीवन ।।
वैंशालु युवायुवती हो, शरीर नापेर मात्र त माम मिल्दैन
संघर्षको मैदानमा फाल हान, सफलताकै धारो छ जीवन ।।
मोजमस्तीमा टहलिनेहरु हो, आफैंलाई चिमोटेर त हेर
समयको प्रवाह नगर्नेलाई भिमकाय भड्खारो छ जीवन ।।
बाली पाकेर लहलह झुल्दा, व्यस्त रहने किसान झैं
परिश्रमी र लगनशीललाई सोध, कति चटारो छ जीवन
हैसियत भूलेर हौसिँदा थेचारिने नि कम छैनन् लोकमा
महत्वाकांक्षा र सपनाले जुलुम डुबेर खटारो छ जीवन ।।
मातृभूमि छोडेर कालकोठरीमा पल पल मर्नेहरुको लागि
स्वदेशको माया कति छ, मिलनमा सँधै हतारो छ जीवन ।।
मन हुने धनी छन्, धन हुने गरिब अनि अति दुःखी छन्
पैसाको जालमा फस्नेहरुको नि कति लतारो छ जीवन ।।
देखासिकीमा नरमाउनेहरु हो, कहिले कसो संसार चियाउ
आँखीझ्यालबाट देख्नेछौ उराठ लाग्ने बिचरो छ जीवन ।।
सन्तानको मति बिग्रँदा तडपिनेहरु कति छन् यो समाजमा
परिवारै भताभुङ्ग छ, बियोगले अति अप्ठ्यारो छ जीवन ।।
सत्य आखिर सत्य नै रहेछ, भ्रम छोप्नु पो अर्को भ्रम
आफ्नै सान र सम्मानले जिउँदा कति प्यारो छ जीवन ।।
टेको लगाएको के जीवन, लेखो लगाएको के जीवन
पौरखबिनाको आडम्बरमा त तातो न छारो छ जीवन ।।
अरुको भरमा जिउने हो, यहाँ अति साह्रो रैछ जीवन
आफैं जिएर सम्म त हेर, बाँच्नै कति गाह्रो रैछ जीवन ।।
– २०७३ असोज ३०
'उल्टो संसार'
मेरो नजर डुल्थ्यो सँधै ओइलाएको फूल रैछ
तिमलाई सँधैं निको/राम्रो देख्ने मेरै ठूलो भूल रैछ ।
जिन्दगीको यात्राको पथ फैलिएको जँघारमा…२
मृत्युरुपी पासो जस्तो भत्किएको पूल रैछ ।
गन्तव्यको एउटा यात्री बास माग्दा कलेजीमा…२
तिम्रो मन पत्थर जस्तै नरसाउने मूल रैछ ।
रगतको घुडको सँगै पिलाइएको दबा थोपा …२
अमृतको प्याला भन्थ्यौं त्यसमा विषयको घुल रैछ
मिर्मिरे र गोधूलीको रश्मी छोप्ने मेघ सरी …२
तिम्रो हाम्रो चिनो रुमाल मिलन छेक्ने तुल रैछ ।
दनदनाउँदो अग्नि होम मण्डप होइन चित्ता अनि…२
अघिपछि जन्ति होइन मलामीको हूल रैछ ।
मेरो नजर डुल्थ्यो सँधै ओइलाएको फूल रैछ
तिमलाई सँधैं निको/राम्रो देख्ने मेरै ठूलो भूल रैछ…२
-----------
No comments:
Post a Comment