अब पनि आत्मनिर्भरता नसोच्ने ?
§ भोजेन्द्र बस्नेत ( २०७२ असोज २९ गतेको कारोबार दैनिकमा)
नेपाल यतिखेर निकै नै
विषम परिस्थितिबाट गुज्रिरहेको छ । वि.सं २०७२ वैशाखको विनाशकणरी भूकम्पले यसै त
क्षतविक्षत भएकोमा भारतले अघोषित नाकाबन्दी गरिदिँदा अर्को संकट आइपरेको छ । लामो
समयदेखिको तराई बन्दले त्यहाँको आर्थिक गतिविधि पूर्णरुपमा प्रभावित भएको छ ।
नाकाबन्दीको प्रभावले राजधानी काठमाडौं तथा मुलुकका विभिन्न क्षेत्रमा संकट
निम्तिएको छ । असुरक्षा र इन्धन अभावमा मालबाहक तथा यात्रुवाहक सवारीसाधन चल्न
नसक्दा त्यसको चौतर्फी प्रभाव देखिएको छ । कच्चापदार्थ तथा उर्जा अभावमा
उद्योगधन्दा पूर्णरुपमा बन्द छन् । निर्माण कार्य पनि अवरुद्ध छ । जसकारण अरबौंको
क्षति भएको छ । आपूर्ति प्रभावित हुँदा महँगी बढेको छ भने ढुवानीको समस्याले
आन्तरिक निर्भरता नभएका काठमाडौंजस्ता सहर तथा क्षेत्रहरुको जनजीवन अत्यन्तै
कष्टकर बनेको छ । अर्थतन्त्रको गतिशीलता नै बन्द भएकोले बेलैमा उपयुक्त कदम चाल्न
नसके ठूलो आर्थिक संकट निम्तिने खतरा उत्पन्न भएको छ ।
नेपालमा संविधान जारी
भएलगत्तै भारतले नेपालमा अघोषित नाकाबन्दी गरेको छ । असुरक्षाको कारण देखाउँदै
नेपालका सीमा नाकाहरुबाट सरसामान ढुवानीमा अवरोध गरिएको महिना दिन हुन लागेको छ ।
केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै नाकाहरु सुचारु भएको भनिए पनि
अवरोध पूर्णरुपमा हटेकै छैन । कुहिएर जाने सरसामान छोडिएको छ तर पेट्रोलियम र अन्य
अत्यावश्यकीय सरसामान निर्वाधरुपमा छोडिएको छैन । अन्य नाकाहरु केही खुकुलो पारिए
पनि बीरगन्ज नाका सुचारु नभएकोले तत्कालै आपूर्ति व्यवस्थापन सहज हुने देखिँदैन । यसले
दशैं तिहारजस्ता चाडबाड मनाउन समेत नपाउने अवस्था आएको छ । भारतले नेपालमा यसअघि
पनि पटक–पटक नाकाबन्दी र आयात अवरोध गरेकाका प्रशस्तै उदाहरणहरु छन् । वि.सं २०४५
सालमा भएको लामो नाकाबन्दीले नेपालको अवस्था जर्जर बनेको थियो । यद्यपि अहिलेजस्तो
यातायात तथा सञ्चार संजाल विकास भइनसकेकोले त्यसबेलाको नाकाबन्दी झेल्न
नेपालीहरुलाई त्यति कठिनाई परेको थिएन । राजा विरेन्द्र गद्दिमा रहँदा र मरिचमान
सिंह प्रधानमन्त्री छँदा नेपालले हवाइजहाजमा इन्धन ल्याएर समेत मुलुक चलाएको थियो
। यस्ता नमिठा घटनाहरुबाट नेपालले पाठ सिकेर अघि बढ्न नसक्दा पुनः उही नियति
दोहोरिएको छ । नाकाबन्दीको स्पष्ट कारण नभएकोले यसलाई नेपालको आन्तरिक
मामिलामाथिको हस्तक्षेपको रुपमा जनमानसले बुझ्ने गरेको छ ।
परनिर्भरताको परिणाम
नेपाल परनिर्भरमात्र
होइन आर्थिक हिसाबले खोक्रो नै बनिसकेको छ । लामो समयको द्वन्द्व, त्यसपछिको राजनीतिक संक्रमणकाल लगायत
विविध कारणले नेपालमा लगानीमैत्री वातावरण नै छैन । लगानीको सुरक्षा नहुनाले
उद्योगधन्दा कलकारखाना खुल्ने क्रम धेरै अघिदेखि नै बन्दजस्तै छ । खुलेका पनि
विभिन्न समस्या झेल्नुपरेकोले टाट पल्टिइसकेका छन् । कूल ग्राहस्थ उत्पादनमा
उद्योगको योगदान अत्यन्तै न्यून (५ प्रतिशतभन्दा तल) छ । अर्थतन्त्रमा एक तिहाई
हिस्सा रहे पनि परम्परागत र जीवन निर्वाहभन्दा माथि उठ्न नसकेकोले कृषिको पनि
हरिबिजोग छ । आन्तरिक माग धान्न सक्ने अवस्था नरहेकोले नै आयात बढेर वार्षिक
बजेटभन्दा व्यापार घाटा धेरै हुन पुगेको छ । भारतसँग नेपालको ७० प्रतिशतभन्दा बढी
व्यापार हिस्सा छ । धुलोमुलोदेखि चुल्होसम्म, नुनदेखि सुनसम्म, गाडीदेखि साडीसम्ममा पूर्णरुपमा परनिर्भर बनिसकेकोले स्थिति झन
विकराल बन्न पुगेको छ । यही कमजोरीको फाइदा उठाउँदै भारतले बेलाबखत समस्या गर्ने गरेको
छ । यसले नेपालको आर्थिक पाटोमा नराम्रो असर पुगिरहेको छ । आयातमुखी राजश्वबाट
चल्नुपर्ने र त्यो पनि बन्द हुँदा त्यसको ‘चेन इफेक्ट’ले अर्थतन्त्रमै गम्भीर संकट
उत्पन्न हुनेछ । मुलुक क्रमशः परनिर्भरतातर्फ धकेलिँदै यस्तो संकटको मोडमा
आइपुगेको छ कि एक दिनमात्र सरसामान आयात नभए जीवनगुजारा चलाउनै हम्मे छ । योजस्तो
दुःखलाग्दो परिस्थिति केही होला ?
आन्तरिक सबलताको
प्रश्न
कुनै मुलुकको शासन
व्यवस्था जब कमजोर हुनपुग्दछ, आन्तरिक
कलह बढ्छ, कमजोर आर्थिक अवस्थाका बीच अरुसामु हात
थाप्नुपर्ने हुन्छ त्यसबेला राष्ट्रवादी भावना उर्लिएर पनि तत्कालै केही गर्न
सकिँदैन । नेपालको अवस्था पनि अहिले त्यस्तै छ । अहिले पनि खाना पकाउन ६४ प्रतिशत
जनताले दाउरालगायत अन्य उर्जा प्रयोग गर्दछन् । तर शहरमा त्यस्तो गुञ्जायस छैन, ग्याँस र तेलको विकल्पै छैन । यो क्रम
गाउँसम्म बिस्तार हुँदैछ । दैनिक जीविकासँग जोडिएको उर्जामै यसरी परनिर्भर हुनु
परेपछि पाखुरा सुर्किनुमात्र अर्थहीन छ । विगतका घटनाहरुबाट पाठ सिकेर विद्युत
आयोजना बनाउन सकिएको भए अहिले यस्तो नियति भोग्नुपर्ने थिएन । उर्जाको रुपमा
विद्युतको उपभोग हुन्थ्यो । हिटर, राइसकुकर
चल्थे । उद्योग कलकारखाना फस्टाउँथे । स्वदेशमै रोजगारी सिर्जना हुन्थ्यो, जनशक्ति पलायन रोकिन्थ्यो । पूर्वपश्चिम
विद्युतीय रेलमार्ग निर्माण, स्वीट्जरल्याण्डजस्तै
ढुवानी र पहाडी यात्रामा केबुलकार बन्ने थिए । विद्युत बेचेर भुटानजस्तो करोडौं
विदेशी मुद्रा आर्जन हुनसक्थ्यो । हाम्रो पनि बोल्ने बाटो हुन्थ्यो । अरु सरसामान
चीन वा तेस्रो मुलुकबाट पनि आयात गर्न सकिन्थ्यो । तर समय आफ्नो रफ्तारमा चुकेन
शासकहरु चुके । विगतदेखिका समस्याको चाङको उकुछले हाम्रो दैनिकी ढुंगे युगतिर
फर्किदैछ ।
यसो भन्दैमा एउटा
सार्वभौम मुलुक चुप लागेर समस्यामै पिल्सिइरहनु पर्दछ भन्ने छैन । नेपाल
भूपरिवेष्ठित भएकोले यसले अन्तर्राष्ट्रिय नियमाअनुसार पारवहन सुबिधा उपभोग गर्न
पाउनुपर्दछ । भारतले सरसामान नपठाउन सक्छ तर तेस्रो देशबाट आयात गर्दा अवरोध गर्न
मिल्दैन । सार्क क्षेत्रमा भारतकै प्रभाव रहे पनि संयुक्त राष्ट्रसंघ विश्वको छाता
संस्था हो । राष्ट्रसंघका १९३ सदस्य मुलुकमध्ये भारतमात्र छैन नेपाल पनि समान
हैसियतमा छ । उसले भारतीय चस्माले नेपाललाई हेर्नु कदापि हुँदैन । राष्ट्रसंघीय
सन्धिसम्झौता तथा कानुनहरु सबैको लागि बाध्यकारी र समान रुपमा लागू हुन्छन् ।
यस्तै पारवहनसम्बन्धी सन्धिमा नेपाल पक्ष राष्ट्र छ । उता विश्व व्यापार संगठनको
सिद्धान्तअनुरुप कुनै मुलुकले व्यापारको स्वतन्त्रतालाई हनन गर्न नपाउनुपर्ने हो ।
बस्तु तथा सेवाको व्यापार स्वतन्त्र गरिएकोले संगठनको प्रावधानअनुरुप पनि
नेपालमाथि अन्याय भएको छ । यस्तै अन्यायमा परिएला भनेर नै अन्तर्राष्ट्रियस्तरमा
उपस्थिति जनाउनुपरेको हो । कुटनीतिक पहलबाट समस्या समाधान नभए नेपालले यो समस्या
अन्तर्राष्ट्रियकरण गर्न किन ढिला गर्ने ?
नगलौं, विवेकमा चलौं
संविधान निर्माणपछि
मुलुकले समृद्धितर्फ उन्मूख होला भन्ने जुन अपेक्षा थियो विपरीत दिशामा परिस्थिति
मोडिँदा चिन्ता थपिनु स्वभाविक हो । तथापि विकराल अवस्था र संकट नपरेसम्म चेत्ने
हाम्रो बानी छैन । अहिलेको अवस्थामा राष्ट्रवादको फोस्रो जपभन्दा पनि जुन
क्षेत्रबाट जसले जे सहयोग गर्नसक्छ गर्नुपर्नेछ । नागरिकले आफ्नो कर्तव्य सही ढंगले
निर्वाह गर्नुपर्नेछ, उद्योगी
एवं व्यापारिक जगतले विषम परिस्थितिलाई मौकामा चौका हान्ने अवशरको रुपमा
लिनुहुनेछैन । छोटो दूरीमा हिँडेरै र सकेसम्म सार्वजनिक सवारीसाधनको प्रयोग
गर्नुपर्नेछ । आम नेपालीले मुलुकलाई संकट परेको अवस्थामा सहयोगका साथै
आत्मनिर्भरताको बाटो रोज्नुपर्नेछ । राजनीतिक हिसाबमा घुँडा टेक्नुहुने छैन ।
समस्याको समाधान भने कुटनीतिक पहलबाटै गर्नुपर्नेछ ।
यो अध्याय छिटै
सुल्झिए तत्कालै आत्मनिर्भरको दीर्घकालीन बाटो रोज्नुपर्नेछ । उद्योगधन्दाको
विकासमार्फत् कच्चापदार्थको सदुपयोग गर्नुपर्नेछ । साना तथा मझौला उद्योगको गुमेको
अस्थित्व पुनर्जीवित गर्नुपर्नेछ । स्वदेशी उत्पादनको प्रवद्र्धन र प्रयोग
बढाउनुपर्नेछ । गाडी, मोटरसाइकल, ग्याजेट, टेलिभिजन, ल्यापटपजस्ता
विद्युतीय सरसामानको विलासी उपभोग्य आयातलाई तत्काल निरुत्साहित गर्नुपर्नेछ ।
यसको सट्टा पूँजी निर्माणतर्फ राज्य अग्रसर हुनुपर्नेछ । कृषि, पर्यटन, निर्यात व्यापारजस्ता क्षेत्रमा विशेष ध्यान जानुपर्नेछ ।
देशमै उद्योगधन्दा तथा कलकारखानाको विकास गरी आत्मनिर्भरता र विकासको बाटोमा सबै
एकताबद्ध हुन सकेमात्र उन्नति होला । म एक्लैले गरेर के हुन्छ र ? भन्ने भावना कसैले पनि राख्नुहुँदैन ।
एक जनाबाटै सुरुआत हुने हो । जति लेखे पनि गाँठो उही हो जबसम्म आफ्नो देश समृद्ध
बनाउनुपर्छ भन्ने चेत हामीमा आउँदैन तबसम्म समाधान निस्कँदैन । नेपाललाई समृद्ध
बनाउने बाटो रोज्न ढिलो नगरौं ।
No comments:
Post a Comment