बजेटः कार्यान्वयन नै जटिल
- भोजेन्द्र बस्नेत (२०७३ जेठ २१ गतेको कारोबार दैनिकमा प्रकाशित)
बजेटलाई राजनीतिक
अभीष्टका रूपमा प्रयोग गर्ने विकृत अनुभवलाई आधार मान्दै संविधानले नै मिति तय गरेकाले
यसपटक समयमा बजेट आएको छ । पुनर्निर्माणको १४० अर्बसहित कुल बजेट १० खर्ब ४८ अर्ब ९२
करोड छ, जसमध्ये चालूतर्फ ५८.९,
पुँजीगततर्फ २९.७ र वित्तीय व्यवस्थापनतर्फ ११.४ प्रतिशत विनियोजित छ
। चालू बजेटभन्दा २८ प्रतिशतले बढी छ । बजेटको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)
को ४७ प्रतिशत छ । पुनर्निर्माण बजेट घटाउँदा ९ खर्ब ८ अर्ब छ जुन योजना आयोगले दिएको
सिलिङभित्रै देखिन्छ । बजेटले ६.५ प्रतिशत आर्थिक वृद्धि र मूल्यवृद्धि ७.५ प्रतिशतमा
राख्ने लक्ष्य लिएको छ भने ४ लाख रोजगारी सिर्जना गर्ने भनिएको छ । बजेट विस्तारकारी
भएकाले मुद्रास्फीति बढाउने धेरैको चिन्ता छ । यद्यपि उत्पादन वृद्धिमार्फत लक्ष्य
पूरा गर्ने सरकारी दाबी छ । समाज नकारात्मक चिन्तनबाट अधिक ग्रस्त रहेकाले गुण र दोषकोभन्दा
पनि नकारात्मक कोणबाट टीका–टिप्पणीको चलन बढी नै छ । सरकारी घोषणा तथा प्रतिबद्धता
समयमा पूरा नगर्ने कमी–कमजोरीले नकारात्मक सोचलाई बल मिल्नु स्वाभाविक पनि छ । तर्कवितर्क
तथा खबरदारी राम्रो हो, किनकि यसले कार्यप्रभावकारितातर्फ सचेत
गराउँछ । बजेटको नकारात्मक पाटो आफ्नो ठाउँमा छ तर यसले केही केही सकारात्मक कार्यदिशा
लिन खोजेकोे छ ।
उत्पादकत्व
वृद्धिका लागि कृषिको आधुनिकीकरण
जीडीपीको
एकतिहाइ हिस्सा ओगट्ने कृषिक्षेत्रको उत्थानबिना मुलुकलाई कायापलट गर्छु भन्नु कोरा
कल्पनामात्र हुन्छ । ७० प्रतिशतभन्दा बढी जनसंख्या आश्रित रहेको कृषिको अवस्था निर्वाहमुखीमात्र
रहेकाले यसलाई उठाउन बजेटले गरेका केही सम्बोधन स्वागतयोग्य मान्न सकिन्छ । कृषि उत्पादन
तथा उत्पादकत्व वृद्धि गरी यो वर्ष जीडीपीमा ३० अर्बको उत्पादन थप्ने लक्ष्य किटान
र कार्यक्रम आउनु सकारात्मक हो । त्यसैगरी कृषिमा पुँजीगत अनुदानसम्बन्धी नीति अझ उदार
गर्न खोजिएको देखिन्छ । उत्पादकत्व बढाउन स्पष्ट मार्गचित्रका साथ 'प्रधानमन्त्री कृषि
आधुनिकीकरण परियोजना' सञ्चालन गरी यस क्षेत्रका समस्या सरकार प्रमुखसम्म आइपुग्ने गरी
सोच अघि सारिएको छ । विभिन्न बाली तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर हुन अवधि
किटान गरिएको छ । भूमिको उर्वरा शक्ति र बाली उत्पादन क्षमताको आधारमा विशिष्टिकृत
कृषि उत्पादन क्षेत्रहरू निर्धारण गर्न कृषि उत्पादन क्षेत्रलाई पकेट, ब्लक, जोन र
सुपरजोनमा छुट्ट्याई अनुदान तथा निःशुल्क प्राविधिक सेवा उपलब्ध गर्ने व्यवस्था कार्यान्वयन
हुन सके उत्पादन तथा उत्पादकत्व बढाउन सकिनेछ । त्यसैगरी कृषि तथा पशुपन्छी बिमामा
७५ प्रतिशत अनुदान, कृषि कर्जा सहज र सुलभ, बाली धितो राखी ऋण लिन सकिने व्यवस्था, न्यूनतम समर्थन
मूल्य, प्रतिफलमा आधारित प्रोत्साहन आदि सकारात्मक कार्यक्रम
आएका छन् । कृषिमा प्रयोग हुने रासायनिक विषादी र प्रांगारिक मल एवं विषादीमा आत्मनिर्भर
बन्न सरकारी, निजी र सहकारिताको अवधारणामा कारखाना खोल्न लिइएको
नीति सराहनीय छ । बजेटमार्फत आएको किसान आयोग तथा किसानको वर्गीकरण एवं किसान सामाजिक
सुरक्षा कोष स्थापनाको अवधारणाले किसानको पिरमर्का सम्बोधन गर्न सक्नेछ । उता बजेटले
भूमिसुधारको पक्ष पनि केही सम्बोधन गर्न खोजेको छ । जग्गाको वर्गीकरण र सोही प्रयोजनमा
मात्र प्रयोग गर्न पाउने व्यवस्था एवं कृषि जमिन बाँझो राखेमा औसत उत्पादनको २५ प्रतिशत
जरिवाना गर्ने व्यवस्था ल्याउन लागिएको छ । तथापि यसको ठोस आधार भने तय गरिएको छैन
। आगामी पाँच वर्षभित्र सम्पूर्ण कृषि भूमिमा सिँचाइको व्यवस्थापन गर्ने उद्देश्यका
साथ तराई क्षेत्रमा सिंचाइलाई महत्व दिइएको छ । यी धेरै व्यवस्था बजेटले अंगीकार गर्दागर्दै
पनि कृषिको आधुनिकीकरण, यान्त्रीकरण, विशिष्टीकरण
र विविधीकरणमा पर्याप्त बजेट भने छैन, कुल बजेटको २.६२ प्रतिशतमात्र
छ । कृषि विकास मन्त्रालयको कार्यसम्पादनस्तर र सक्षमतामा भर पर्ने हुँदा कृषिको उपब्धि
मन्त्रालयको कार्यप्रभावकारिता कस्तो हुन्छ, त्यसैमा भर पर्नेछ
।
सामाजिक सुरक्षामा
जोड
बजेटले सामाजिक
संरक्षण तथा सुरक्षाको पाटोलाई पनि सम्बोधन गर्ने प्रयास गरेको छ । यसअघि ज्येष्ठ नागरिक, एकल महिला, विधवा
महिला, अपांगता भएका व्यक्ति र लोपोन्मुख आदिवासी जनजातिलाई प्रदान
गरिँदै आएको सामाजिक सुरक्षा भत्ता दोब्बर गरिएको छ । यसका लागि ३२ अर्ब ७० करोड छुट्ट्याइएको
छ । यो जीडीपीको १.५ प्रतिशत हो । त्यसैगरी विपन्न परिवारका दुई जना बालबालिकाले बालसंरक्षण
अनुदान प्राप्त गर्दै जाने व्यवस्था गरिएको छ, तर विपन्न को हो
परिभाषित गर्न कठिन छ । सामाजिक सुरक्षा भत्तामा बैंक खाता अनिवार्य गरिएको छ । जनता
आवास कार्यक्रमअन्तर्गत विपन्न एवं लोपोन्मुख समुदायका २० हजार परिवारका लागि आवास
निर्माण गर्ने भनिएको छ । त्यस्तै पिछडिएको क्षेत्र कर्णालीका विद्यार्थीलाई उपलब्ध
गराइने दिवा खाजालगायत अन्य धेरै कार्यक्रम सामाजिक संरक्षणकै पाटो हुन् । यसको दायरा
फराकिलो गर्दै पछि परेको र तल्लो तह र तप्कालाई उठाउँदै जानुपर्छ । हाम्रै आमाबुबा,
बालबालिका तथा सामाजिक अपहेलनामा परेका परेकाहरूले भत्ता पाउने भएकाले
यसलाई सकारात्मक रूपमा लिनुपर्छ । यद्यपि स्रोतको सुनिश्चितता नगरी वितरणमात्र गर्न
खोजिएकाले यो अवधारणा दिगो नहुने खतरा त त्यसैले व्यवस्थापन गर्दै लैजानु राज्यको दायित्व
हुन जान्छ । दिगो स्रोत व्वस्थापनका लागि सुझाव कार्यदल बनाइने भएको छ । सामाजिक संरक्षण
तथा सुरक्षाका अधिकांश कार्यक्रम योगदानमा आधारित र बिमाबाट सुनिश्चित गरिने किसिमका
हुनुपर्छ । सामाजिक संरक्षण तथा सुरक्षाका कार्यक्रम भन्नेबित्तिकै राज्यले भत्ता दिनेमात्र
होइन, यसका बहुआयामिक पाटोलाई बजेटले समेट्ने प्रयास गरेको छैन
।
गुणस्तरीय
स्वास्थ्यसेवामा पहुँच
नेपाली जनताले
अत्यन्तै पीडा झेल्नुपरेको विषयमध्येको एक स्वास्थ्य पनि हो । लोककल्याणकारी राज्यको
दायित्वभित्र पर्ने भए पनि स्वास्थ्योपचार व्यवस्थित, सर्वसुलभ र पहुँचमा नहुँदा धेरैले
उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेको यथार्थ छ । हरेक वर्ष स्वास्थ्यमा पर्याप्त
बजेट छुट्ट्याइएको पनि छ तथापि जनताका समस्या बीसको उन्नाइस भएका छैनन् । बजेटले स्वास्थ्य
बिमाको पाटोलाई उजागर गरेको छ, यो अत्यन्तै सराहनीय छ । सम्पत्ति
अभावमा औषधोपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई सम्बोधन गर्न तीन वर्षभित्र सबै नेपालीको
स्वास्थ्य बिमा गर्ने गरी ‘राष्ट्रिय स्वास्थ्य बिमा योजना’ अघि सारिएको छ । यो वर्ष
२५ जिल्लामा विस्तार गर्न साढे २ अर्ब विनियोजित छ । गरिबीको रेखामुनिका नागरिकलाई
क्यान्सर, मुटु, मृगौला र कलेजोको उपचार
निःशुल्क गर्ने प्रबन्ध साह्रै सराहनीय पक्ष हो । त्यस्तै मृगौला रोगबाट पीडितका लागि
प्रत्यारोपण नगरेसम्म निःशुल्क डायलासिस सेवाले धेरैलाई राहत पुग्नेछ । ‘एक गाउँ एक
डाक्टर कार्यक्रम अन्तर्गत गाउँगाउँबाट विद्यार्थीलाई छात्रवृत्तिमा एमबीबीएस पढाउने
र गाउँकै सेवामा खटाउने सोच स्वागतयोग्य छ । अर्को महŒवपूर्ण कदम वीर अस्पतालको आधुनिकीकरण र पुनर्निर्माणको हो । योलगायत ठूला
सरकारी अस्पताललाई सबै क्षेत्रमा विस्तार गर्नु जरुरी छ । स्वास्थ्यक्षेत्रमा यसअघि
पनि धेरै कार्यक्रम आए । तर, पर्याप्त अनुगमनको अभावमा धेरै राम्रा व्यवस्थाहरूको कार्यान्वयन भएको छैन
। यसतर्फ सचेत हुँदै अनुगमन प्रभावकारी तुल्याइनुपर्ने खाँचो छ ।
पूर्वाधार
विकास
पूर्वाधार
आर्थिक क्रियाकलाप सिर्जना एवं निजी लगानी अभिप्रेरित गर्ने प्रमुख आधार भएकाले यसको
विकास अपरिहार्य छ । यो वर्षको पुँजीगत बजेट धेरै हदसम्म पूर्वाधार विकासमा केन्द्रित
गरिएको छ । यो अत्यन्तै सराहनीय पक्ष हो । सडक विस्तार, ऊर्जा विकास, सहरी विकास परियोजना, तराई–मधेस पूर्वाधार परियोजना,
भूकम्पपछिको पुनर्निर्माण, खानेपानी, सिँचाइ, विमानस्थललगायतका पूर्वाधारमा पर्याप्त रकम व्यवस्था
गरिएको छ । पूर्वाधारमा ३ सय ११ अर्ब बजेट छ, जसमध्ये पुनर्निर्माणका
लागि १ सय ४० अर्ब ६६ करोड छ भने बाँकी विभिन्न ठूला राष्ट्रिय गौरवका परियोजनाहरूमा
केन्द्रित छ । बजेटले बहुमहŒवको काठमाडौं–निजगढ
दु्रतमार्ग स्वदेशी लगानीमा निर्माण गर्न १० अर्ब छुट्ट्याएको छ । त्यस्तै बुधुने–हेटौंडा
सुरुङमार्गका लागि १० अर्ब नै छ । तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलका लागि १३ अर्ब
छुट्ट्याइएको छ, जसमा
गौतमबुद्ध विमानस्थलका लागि ७ अर्ब २२ करोड, पोखरा विमानस्थलका
लागि ५ अर्ब, निजगढ विमानस्थलका लागि १ अर्ब ४० करोड विनियोजित
छ । बजेटले ऊर्जालाई विशेष महŒव दिँदै दशकभित्र विद्युत्
निर्यात गर्ने स्पष्ट मार्गचित्रका साथ उत्पादन, प्रसारण र वितरणमा प्राथमिकता दिएको छ । उक्त अवधिमा नदी
बहावबाट ६ हजार र जलाशययुक्त आयोजनाबाट ४ हजार गरी कुल १० हजार मेगावाट विद्युत् उत्पादन
लक्ष्य लिइएको छ । ‘घरघरमा बिजुली जनजनमा सेयर’ कार्यक्रम सञ्चालन गरी विद्युत् आयोजना
निर्माण गर्ने सोच अघि सारिएको छ । २ हजार १ सय मेगावाटको बूढीगण्डकी आयोजना निर्माण
प्रारम्भ गर्न पेट्रोलियमबाट कर उठाई यसमा प्रवाह गर्ने सोचसहित यो वर्ष उक्त आयोजनाका
लागि १२ अर्ब २२ करोडको स्रोत सुनिश्चित गरिएको छ । सरकारले तराई–मधेस हुलाकी राजमार्ग,
मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण राजमार्ग कोरिडोर,
ग्रामीण मार्गहरूको निर्माण एवं स्तरोन्नति तथा चीनसँग जोड्ने मार्गहरूलाई
प्राथमिकताका साथ बजेट दिएको छ । पाँच वर्षभित्र सबै कृषि भूमिमा सिँचाइ पु¥याउने लक्ष्य
सिँचाइतर्फको प्रतिबद्धता हो ।
स्थानीय
निकायलाई बजेट दोब्बर
यसपटक
स्थानीय निकायको बजेट दोब्बर पारिएको छ । बजेटले नगरपालिका र गाविस अनुदान, निर्वाचन क्षेत्र पूर्वाधार
विशेष विकास कार्यक्रमको अनुदान दोब्बर बनाएको हो । ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने
नारासहित गाविसको अनुदान १५ अर्ब ५५ करोड पु¥याइएको छ । त्यसैगरी नगरपालिकाको
पूर्वाधार विकासका लागि ‘आफ्नो नगर आफैं सजाऔं’ कार्यक्रम अघि सार्दै १३ अर्ब ९
करोड विनियोजन गरिएको छ । अहिले २ सय १७ वटा नगरपालिका छन्, तीमध्ये दुईलाई महानगरपालिका
बनाउने योजना अघि सारिएको छ । दशकौंदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको तथा
बजेट दुरुपयोगका धेरै गुनासो आइरहेको सन्दर्भमा विनियोजित बजेट दुरुपयोग हुने
चिन्ता छ । खर्च गर्ने क्षमता कमजोर छ । यसका लागि तल्लो तहको पुनर्संरचना आवश्यक
छ । बजेट भागशान्ति गर्ने तथा सांसदलाई दिइएको बजेट दुरुपयोगको सम्भावना अधिक
रहेको हुँदा आफ्नो क्षेत्रको विकासमा स्थानीय जनता नै चनाखो र जागरुक हुनु जरुरी छ
।
औद्योगिक
पूर्वाधार
विभिन्न
समस्याका कारण औद्योगिक वातावरण खस्किँदो छ । जीडीपीमा उद्योगको योगदान घटेर ५
प्रतिशतभन्दा तल आइसकेको छ । ऊर्जासंकट र श्रमसमस्याका कारण उद्योगहरू बन्द हुने
क्रमले उत्पादन तथा रोजगारी गुम्दै गएको छ । यसकारण अर्थतन्त्र नै धरापमा परेको
तीतो यथार्थ छ । औद्योगिक उत्थानका लागि समय–समयमा पहल नभएको होइन तथापि आशातित
प्रगति हुन सकेको छैन । यो वर्ष पनि सरकारले औद्योगिक वातावरण तय गर्ने नीतिहरू
बजेटमा समावेश गरेको छ । नीतिगत तथा कानुनी सुधार, निजी क्षेत्रसँगको सहकार्यमा जोड, औद्योगिक पूर्वाधारको विकास, कर छुट, अनुदान एवं कर्जा सरलीकरणका प्रावधान बजेटले बोकेको छ । उद्योगधन्दाको
उत्थानमार्फत ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य छ । नयाँ औद्योगिक क्षेत्र
स्थापना, चितवनमा इन्डस्ट्रियल सेन्टर फर एक्सिलेन्स स्थापना
गरिने, उद्यमीलाई प्रोत्साहनलगायतका लागि ७ अर्ब छुट्ट्याइएको
छ । अत्यावश्यकबाहेक करका दर खासै परिवर्तन गरिएको छैन । यद्यपि पुँजी निर्माण,
उत्पादन तथा उत्पादकत्व बढाउन विभिन्न समस्या रहेकाले यसलाई चिर्ने
प्रयत्न नभएसम्म औद्योगिक वातावरण नबन्ने निश्चित छ । व्यापार घाटा घटाउने रणनीति
खासै छैन, सरकारी तलब वृद्धिका कारण निजी क्षेत्रलाई दबाब छ,
उत्पादन महँगिने सम्भावना छ । जीडीपीको ११ प्रतिशत हाराहारी घाटा
बजेट आएकाले यसको पूर्तिका लागि आन्तरिक बजारबाट ऋण उठाउँदा ब्याजदर बढ्न गई सोझो
असर उत्पादनमा पर्न सक्ने हुन सक्छ ।
यीबाहेक
यसपटकको बजेटले लिएका धेरै नीति विकासलाई प्रोत्साहन र सबैलाई उत्साह जगाउने
किसिमका छन् । निजी क्षेत्रलाई प्रोत्साहन,
गरिबी न्यूनीकरण, शिक्षा क्षेत्रको सुधार,
सहकारिताको प्रवद्र्धनलगायतका कार्यक्रम पनि समेटिएकै छ । यसले
अर्थतन्त्रमा 'सक' घटाउने र 'स्टिमुलस' बढाउने काम गर्न सक्छ । यद्यपि स्रोतको
सुनिश्चितताबिना उत्पादन पक्षभन्दा वितरण पक्षलाई बढी महŒव दिइएकाले बेलैमा सचेत नभए स्फीतिकारी दबाब हुन सक्छ ।

No comments:
Post a Comment